लालीगुराँसको चौथो अङ्क प्रकाशित भयो

April 1, 2010

लालीगुराँसको चौथो अङ्क डाउनलोड गरेर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

चौथो अङ्क

सम्पादक तथा प्रकाशक

सिस्नो

April 1, 2010

कविता

-वासुदेव अधिकारी

 

छोयो कि पोल्यो

छाम्यो कि डाम्यो

निक्कै गुन छ सिस्नोको

लेकमा सिस्नो

बेँसीमा सिस्नो

गीतै गीतको गाथा छ सिस्नोको।

सिस्नो जति जाज्वल्यमान् भए पनि

सिस्नो जति सामर्थ्यवान् भए पनि

घरको दलिन बनाउन सकिँदैन सिस्नोबाट

थामहरू बनाउन सकिँदैन सिस्नोबाट।

डाम्न हुन्छ

तर्साउन हुन्छ

तर अडेस लाग्न हुँदैन

न सिन्काको गुन

न फरिकाको भर।

सिस्नो भयको मूल हो

भए केन्द्रबिन्दु होइन जीवनको

जीवन मायाँको पर्याय हो

ओतको अर्को पाटो हो

पर्यावरणको यो वीभत्सतामा

हामीले सिस्नो रोप्ने कि साल?

गोजीमा बारूद बोक्ने कि

अमलाको दाना?

विसंगति

April 1, 2010

लघु कथा

-लाल श्रेष्ठ

बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ।

 

दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, एक्कासी ह्वास्स रक्सीको गन्ध आयो। दुवैले डण्डीमा समाएर सुरक्षित उभिए। अहिलेको पहिरन न हो, छोटो टी-शर्ट नाइटोभन्दा माथि पुग्यो। त्यसै त फुत्त खस्न-मात्र बाँकी रहेको पाइन्ट झन् तल झ-यो। यसो आँखा डुलाएँ दुवैको हालत उस्तै थियो। वसमा यात्रा गरिरहरेका सबैल ती दुवैका गुप्ताङ्गका रौं प्रष्टै देखे। कसैले केही बोलेनन् बरू ती केटाहरूको मुखबाट निस्केको दुर्गन्धसमेत आरामले पचाएर वसे सबैजनाले। केटाहरूको हरेक सम्वाद ‘दाँत झार्ने’, ‘मार्दिने’, ‘रेट्दिने’ र ‘बोरामा हालेर फाल्दिने’ जस्ता शब्दहरूको वरिपरि सीमित थियो। एउटाले ‘साइली’लाई फोन गरेर भरे बेलुका आइपुग्छु भने। दुबैले जोड-जोडले बोले र बोलिरहे, जोड-जोडले मात्तिएको हाँसो हाँसे र हाँसिरहे। उनीहरूको बोली र हाँसोमा कुनै लगाम थिएन। भलादमीजनलाई अश्लिल लाग्ने सबका सब शब्दहरू यात्रुहरूले अघाउञ्जी सुने। ड्राइभर, कण्डक्टर र खलाँसी कसैले पनि केटाहरूलाई त्यस्तो कुरा नबोल भनेनन्।  यात्रुहरूले पनि तिम्रो गुप्ताङ्ग र रौं छोप भनेनन्, रक्सी खानेलाई बाहिर निकाल भनेनन्, अश्लिल शब्द नबोल भनेनन् केवल मौनता साधे। केटाहरूले बक्नु बकिरहे, जात्रा देखाउनु देखाइरहे। लाग्छ यी सबै कुरा हेर्ने, सुन्ने, सुँघ्ने र सहने बानी म जस्ता बसमा यात्रा गर्ने सबै भलादमीजनले बसालिसकेका छन्। के गर्नु खै? यस्तै छ ‘नियम’।

रातो रगत

April 1, 2010

कविता

-देवी उपरकोटी

 

मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन

स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन

 

उसको पनि रातो रगत मेरो जस्तै हेर

कसरी ऊ अछुत भयो भ्रम भयो यहाँनेर

 

काम गर्ने निहु पारी कामको बाँडफाँड गर्दा खेरी

टाठाबाठा मान्छेहरूले जात छुट्याए मान्छे हेरी

 

जुत्ता चल्ने कपडा चल्न्र पानीचाहिँ किन नचल्ने

थिचिएर होला शायद जातपातमा मान्छे नबोल्ने

 

जाऔं अब हात समाउँ मान्छेको जात एउटै बनाउँ

रूढीवादी विचार त्यागी साँच्चै नयाँ नेपाल बनाउँ

अमेरिकामा मेरो एक दिन

April 1, 2010

संस्मरण

-ब्यास, अमेरिकाबाट

 

आजभोलि किन हो कुन्नि बिहान चाँडै निद्रा खुल्न  गरेको छ । बिहान सबेरै निद्रा खुलेपछि फेरि सुत्ने कि उठ्ने दोमन हुन्छ हरदिन ।  कहिलेकाहिँ उठेर कम्प्यूटरमा बस्छु । कुनै नयाँ इमेल हुँदैन भन्ने थाहा पाउँदा-पाउँदै पनि इमेल खोल्छु कुनै नयाँ इमेल आ’को छ  कि भन्ने झिनो आशमा । आजकल माई संसार डटकम बाहेक फेसबुक हेर्ने नयाँ लत लागेको छ । दिनको एक चोटी  यी साइटहरु नहेरी खाएकै पच्दैन मलाई ।

 

विहान उठेर मुख कुल्ला नगरी ठूलो ग्लासले दुइ ग्लास पानी पिएपछि मेरो नियमित दिनचर्या शुरु हुन्छ । केहीछिन ब्यायाम मेशिनमा कुद्छु । बिरलै प्राणायाम गर्छु । केही वर्ष पहिले त नियमित प्राणायाम गर्थेँ तर अहिलेचाहिँ छुटेको छ ।  म प्रत्येक दिन भोलिदेखि प्राणायाम र योगाशन शुरुगर्ने वाचा गर्छु । यसो गर्दा मलाई एकखाले सन्तोष मिल्छ। तर, गजबको कुरा, महिनाको कुनै एकदिन प्राणायाम गरेर आफ्नो वाचा पूरा गरेँ भन्दै म आफूले आफैलाई ठग्छु । विहानको खानामा मलाई दूधसँग सेरियल (कर्णफ्लेक्स) र ठूलो एककप कफी  भए पुग्छ । कहिलेकाहिँ पीनट बटर र ब्राउन ब्रेड लिन्छु केवल स्वाद फेर्नका लागि । मजाले ब्रेकफास्ट खान शनिवार र आइतवार नै कुर्नुपर्छ। अरुदिन अफिसतिर दगुर्नै हतार हुन्छ ।

 

प्रायः अफिसको लागि बस समात्न साँच्चैकै दगुर्न पर्नेहुन्छ । बस प्रायः समयमा नै आउँछ । भलादमी ड्राइभर परे भने बाटो काट्न लागेको देखेपछि बस एक मिनेट रोक्छ नत्र आधा घण्टा अर्को बस कुरेर बस्नु पर्छ । सार्वजनिक यातायात सेवाको उपयोग गरोस् भनेर नगरपालिका र राज्य सरकारले कर्मचारीहरुलाई राम्रो सहुलियतमा महिनावारी बस र रेलको टिकट प्रदान गर्छ । यस सुविधाबाट आफूलाई पनि सजिलै भएकोछ । हुन पनि हो, गाडी गुडाउनु पनि परेन, पार्कीङ्गको झन्झट पनि भएन ।

 

म चढ्ने बस बिसौनीबाट खासै मानिसहरु चढदैनन् । कहिलेकाहिँ एकजना हाईस्कूले विद्यार्थी यहाँ देखिन्छ । ऊ आफ्नै धूनमा हुन्छ- आईपडको संगीतमा मस्त । म बस चढ्छु र ड्राईभरलाई हलो भन्छु । मेरो महिनावारी टिकट देखाउँछु र कुनै खाली सिटमा गएर बस्छु । नगरपालिकाले सञ्चालन गरेको बस सफा, सुलभ र सस्तो छ । म पनि आफ्नो सिटमा आफ्नै धूनमा रमाउँछु। अरू पनि  आ-आफ्नै धूनमा रमाउँछन्  । ठिटा-ठिटीहरु काने संगीतमा मस्त छन् । कोही सेलफोनमा ब्यस्त छन् । कोही अखवार पढ्दै कुन्नि के-के खबरमा मग्नछन् त कोही किताब पढ्दैछन् । मचाहिँ अलि फरक छु । बाहिरको वातावरण नियाल्दैछु । आज भने बाक्लै कुहिरो लागेकोछ । तर बस आफ्नै गतिमा दौड्दैछ । बसमा मान्छेहरु पनि थपिँदैछन् । सबका हातमा टिफिन ब्याग छन् । अब त बसमा बस्ने ठाउँ पनि हुन्न । त्यसैले मानिसहरु उभिन थालिसके । बस निरन्तर दौड्दैछ आफ्नो गनतब्यतिर शान्तसंग । बसभित्र सब शान्त छन् । बाहिर पनि कुनै ठूलो स्वर छैन । कतै हर्नको तिखो स्वर पनि सुनिँदैन । सुनिन्छ त सिर्फ गाडी गुडेको मन्द आवाज ।

 

अब म अफिस आइपुगेकोछु । अहिले विहानको आठ बजेको छ । ‘मेन डेस्क’मा एकजना गोरा र एकजना भारतीय मूलका गार्ड छन् । दुबैलाई अभिबादन गर्दै म आफ्नो खोपामा पुग्छु । मेरो कुनै कोठा छैन अफिसमा सिर्फ खोपा छ- क्यूबिकल । मेरो छेउमा मेरो हाकिमको खोपा छ । हाकिमलाई अभिवादन गर्दै म आफ्नो सिटमा बस्छु । मेरो हाकिम जहिले पनि सात बजे नै आईपुग्छ र आफ्नो काममा ब्यस्त रहन्छ । उ पनि म जस्तै विदेशबाट आएको आप्रवासी हो । ऊ साह्रै मेहनती र तेज बुद्धिको छ । अनि इमान्दार पनि छ ।  म आफ्नो टिफिन बक्स राख्न किचेन लाग्छु । प्रायः किचेनमा यो समयमा एकजना गोरा फास्टफुडबाट ल्याएको ब्रेकफास्ट खाँदैहुन्छ । ब्रेकफास्ट खान नभ्याएर वा ब्रेकफास्ट बनाउन अल्छि लागेर हो वा मेरो जस्तो ब्रेकफास्ट बनाइदिने श्रीमती नभएर हो, जहिले पनि त्यही अस्वस्थकर ब्रेकफास्ट खाँदैबस्छ । अर्की एक महिला भने पाउरोटी सेक्दैहुन्छ । तिनले भने आफूलाई चाहिने सबै सरसामान फ्रीजमा राखेको हुन्छ ।

 

किचनबाट फर्केर म आफ्नो काममा लागिहाल्छु । मेरो काम मजाको छ । स्वतन्त्र रुपमा काम गर्न पाइन्छ । खासै कुनै दवाब छैन भन्दा पनि हुन्छ। बाह्रबजे लन्च ब्रेक हुन्छ -खाना खान  र विश्रामको लागि ।  लन्च ब्रेक मैले एकघण्टा लिने गरेकोछु । आधाघण्टा पनि लिन पाईन्छ आफ्नो खुशीले । मचाहिँ पन्ध्र मिनेटमा खाना खान भ्याउँछु । घरबाट ल्याएको खाना माइक्रोवेभमा तताएर खान त्योभन्दा बढी समय लाग्दैन । खाना खाएपछि आधा घण्टा नजिकैको पार्कमा हिडँछु । कहिले सहकर्मी साथीसंग त कहिले एक्लै । मेरो पनि हाकिम दौड्न निस्कन्छ । घरबाटै दौडने सामान ल्याएको हुन्छ उसले । दौड पूरा गरेर नुहाउँछ र कम्प्यूटर अगाडि बसेर खाना खान्छ । म पनि पन्ध्र मिनेट जति नेपाली र अन्य समाचार हेरेर बिताउँछु ।

 

दिनभरको एकोहोरो कामले साँझसम्ममा मज्जाले थाकिन्छ । मेरो हाकिम सात बजे अफिस आउँछ साढेचार बजे तिर निस्कन्छ । मचाहिँआठ बजे आउँछु अनि  पाँच बजेतिर निस्कन्छु । हामी दुबै दिनको आठ घण्टा काम गर्छौ । साँझ घर फर्कन मलाई बस भन्दा रेल मनपर्छ । मलाई रेलको सफर जहिले पनि रमाइलो र सुरक्षित लाग्छ । विशेष गरेर रेल गुडेको आवाज मलाई मनपर्छ । त्यस्तै रेलमा विभिन्न उमेर र पहिरनका मान्छेहरु पनि हेर्न पाइन्छ । रेलमा कहिलेकाहिँ केही उरेन्ठेउला कालो वर्णका केटाहरु पनि चढ्छन् । उनीहरुको आफ्नै दुनियाँ छ । आफ्नै पहिरन छ कम्मरभन्दा तल बाँधेको पाइन्ट । यो पहिरन मलाई अलि पच्दैन, शायद म अलि बुढो भएछु क्यारे ।

 

अब म आफ्नो ओर्लने स्टेशनमा आइपुगेकोछु । मेरी श्रीमती मलाई लिन स्टेशनमा गाडी लिएर आइसकेकोछ । यहाँबाट मेरो घर सिर्फ पाँच मिनेटको ड्राइभमा छ- यस्तै तीन किलोमीटर जति।  यसबेलासम्म म भोकाई सकेकोछु । घर पुगेपछि श्रीमतीको हातको तातो मीठो चियासंग पीनट बटर दलेको एक टुक्रा पाउरोटी खान्छु । अनि केही बेर इमेल र इन्टरनेटमा भुल्छु । अफिसमा ब्यक्तिगत इमेल हेर्न मिल्दैन त्यसैले इमेलको लागि घरकै कम्प्यूटर प्रयोग गर्नुपर्छ । अब फेरि एकछिन ब्यायाम मेशिनमा बिताउँछु । ब्यायाम सकेर नुवाइ धुवाइ गर्दासम्म श्रीमतीले खाना खान बोलाई सक्छ । खानाचाहिँ नेपाली नै मनपर्छ । खास गरेर सुख्खा रोटी ।

 

हो, प्रत्येक दिन यसरी नै कट्दैछ अमेरिकाको बसाई- सामान्य र शान्त । अस्तु ।।

 

बुँख्याचा

April 1, 2010

कविता

 

-बिमल रेग्मी

 

 

खेतबारीको बीचमा

ठिङ्ग उभिएर बसेको  छ बुँख्याचा

लाग्छ बुँख्याचा

बच्चा र बटुवाहरूलाई तर्साउन बसेको भुत हो

हात फिजारेर उभिएको छ बुँख्याचा

आफ्ना मालिकको बाली जोगाउन

थोत्रो मैलो लुगा लगाएर

एउटा डरलाग्दो रूपमा छन् बुँख्याचाहरू।

 

बुँख्याचा आज पनि उभिरहेकै छ,

मालिकको त्यही थोत्रामोत्रा लुगा लगाएर

यस्तो लाग्छ

मालिक नै बुँख्याचा भएर,

बुँख्याचा नै मालिक भएर उभिएको छ 

बाटो छेउबाट हिड्दा भयभित छन् बच्चा र बटुवाहरू

र पनि उभिरहन्छन हरेक खेतबारीहरूमा

मालिकले खटाएका बुँख्याचाहरू ।

 

मालिक ढुक्क छ

बुँख्याचाको इमान्दारितामा र लगनशिलतामा

बुँख्याचा फुरूङ्ग छ

थोत्रामोत्रा भएपनि मालिक कै लुगा लगाउन पाएकोमा

ऊ सोच्दछ यो खेतबारीको मालिक म नै हूँ

मालिक पनि सन्तुष्ट छ

बुँख्याचाजस्तो ज्यालारहित कामदार पाएर।

 

मान्छेहरूमा बिश्वाश, इमान्दारीता र मेहनत भैदिएको भए

किन खटाउथे मालिकहरू आफ्नै भेषमा बुँख्याचाहरू?

मालिकहरूमा मानवता र नैतिकता भैदिएको भए

कहाँ लिन सक्थे र बुँख्याचाले मान्छेका स्थान?

 

आजभोलि जताततै

मान्छेहरू बुँख्याचा भैरहेका छन्

बुँख्याचाहरू मान्छे भैरहेका छन्

मालिकहरू लागिरहेछन्

बुँख्याचाहरूलाई मान्छे बनाउन

र मान्छेहरूलाई बुँख्याचा बनाउन

मान्छेहरू क्रमशः बुँख्याचामा रूपान्तरित भैरहेका छन्,

बुख्याँयाहरू क्रमशः मान्छेमा परिवर्तित भैहेका छन्

यो बनाउने र बिगार्नेको खेल हिजो पनि थियो,

आज पनि छ र भोलि पनि रहने छ।

 

Email: regmi_bimal001@yahoo.com

मनोविज्ञान

April 1, 2010

कथा
-पुष्कल श्रेष्ठ


मनोविज्ञानमा ‘एम.ए.’को परीक्षा सकिने वित्तिक्कै कुन ‘टपिक’मा ‘थेसिस’ लेख्ने होला भन्ने प्रश्नले विद्यार्थीहरूलाई पिरोल्न थालिसकेको थियो। अन्तिम दिनको परीक्षा सकिएपछि हामी केही साथीहरू चिया पसलमा चिया पिउँदै त्यही विषयमा कुरा गर्न थाल्यौं तर त्यसदिन केही भएन। ‘‘यस्तो बेलाँ कुरा गरेर नि हुन्छ? भोलि विहान ‘फ्रेश मुड’ मा कुरा गरौं। ‘मर्निङ वाक’ गर्दै क्रिकेट मैदानमा सबैजना जम्मा होऔं। बरू कपालभाति र अनुलोम-विलोम त्यहीँ गरौंला। सबैले आ-आफ्नो ‘फ्रेश आइडिया’ त्यहीँ ‘शेयर’ गरौंला। त्यसो गरे कसो होला?’’ छुट्टिने बेलामा हरिकलाले प्रस्ताव राखिन्। ‘‘‘हरिबंश्या’ छोरीको कुरा मलाई मन प-यो। लौ म चाहिँ आउने भए ठीक सात बजे।’’ हरिकलालाई जिस्क्याउँदै किरणले उनको कुराको समर्थन गरे। हरिकलाको बोल्ने शैली चर्चित कलाकार हरिवंश आचार्यसँग मिल्दोजुल्दो भएकोले उनलाई हामी जिस्क्याउँदा ‘हरिबंश्या’ चेली भनेर सम्बोधन गर्छौ। किरणको कुराले चियापसलमा हल्का हाँसो गुञ्जियो। ‘‘‘मदनकिस्न्या’ छोरोले भन्या ‘ट्याम्मा’ म पनि आउने भएँ’’ सरलाले पनि समर्थन जनाईन। सरलाको कुरा सुन्ने वित्तिक्कै हरिकलाले भर्खर मुखमा हालेको चिया पाउरोटी फुत्त भुईँमा खस्यो। अब भने राम्रै हाँसो छायो चिया पसलमा। किरण उही चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको नक्कल गर्छ कहिलेकाहिँ। त्यै भएर सरलाले उनलाई ‘मदनकिस्न्या’ चेलो भनेकी हुन्। ‘‘तर सबैले एकसे एक ‘ब्रान्ड न्यू’, ‘युनिक’, र ‘सरप्राइजिङ्ग’ ‘आइडिया’ सोचेर आउँनु पर्छ है’’ हरिकलाले आदेश दिइन। उनको आदेशलाई शिरोपर गरी हामी पाँचजना छुट्टियौं।

‘‘को-कोले के-के ‘आइडिया’ सोच्या’छ लौ रहस्यको पोको खोलौं त’’ क्रिकेट मैदानमा पाँचैजना भेला हुने वित्तिक्कै सरलाले कुरा झिकी हाली।
‘‘मनोविज्ञानको विद्यार्थीले त मनोविज्ञानमै ‘थेसिस’ लेख्नु प-यो हैन त? त्यसैले मैले त तत्कालीन राजा ज्ञानेन्द्रको महाराजाबाट नागरिक हूँदा उनको मनोविज्ञानमा आएको परिवर्तनका बारेमा ‘थेसिस’ लेख्ने विचार ग-या छु। मेरो ‘थेसिस’ ‘सुपरहिट’ हुनसक्छ, कि कसो साथी हो?’’ किरणले आफ्नो योजना बतायो।
‘‘मेरो पनि किरणकै जस्तो विचार छ। तर मैले चाहिँ प्रचण्डको मनोविज्ञानको विश्लेषण गर्ने विचार गरेको छु। उनीसँग जङ्गलको शक्ति, सत्ताको शान र सडकको विलौना तीनवटै कुराको गजबको अनुभव छ। जङ्गलबाट सत्ताहुँदै सडकसम्मको यात्रामा उनको मनोविज्ञानमा आएको परिवर्नन वारे ‘थेसिस’ लेखियो भने एउट नयाँ ‘थ्योरी’को प्रतिपादन हुनसक्छ।’’ गोपालले पनि आफ्नो विचार राख्यो।
‘‘किरण र गोपालको ‘टपिक’चाहिँ ‘पोलिटिकल’ रहेछ। मेरो चाहिँ शुद्ध ‘साइकोसोसियल’ छ। मैलेचाहिँ नेपालका सवैभन्दा अग्ला व्यक्ति राजन अधिकारी र संसारकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगरवीचको मनोविज्ञानको तुलनात्मक अध्ययन गर्ने विचार ग-या छु। मेरो ‘थेसिस’ले मनोविज्ञानको क्षेत्रमा एउटा नयाँ ‘थ्योरी’ दिनेछ। यसलाई प्रकाशन गरियो भने पक्का ‘बेस्ट सेलर’ हुन्छ बुझ्या हो तिमीहरूले?’’ मैले मेरो योजना बताएँ।
‘‘तिमीहरू सबैले विवाहित पुरूषहरूको ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’(लोग्ने-स्वास्नी वाहेक अन्यसँगको यौनसम्बन्ध) का बारेमा सुनेका र पढेका हौला। मचाहिँ ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’मा संलग्न विवाहित महिलाहरूको मनोविज्ञानका विषयमा ‘थेसिस’ लेख्छु। मेरो ‘थेसिस’ले पक्कै पनि सनसनी मच्चाउनेछ र ‘बेस्ट सेलर’ पनि हुनेछ।’’ हरिकलाले उनको ‘थेसिस’ कस्तो हुनेछ भन्ने कुरा बताइन्।
‘‘तिमीहरूको सबैको ‘टपिक्स’ थाहा पाएँ। लौ मेरो पनि थाहा पाओ। तिमीहरूले बलत्कृत पुरूषको बारेमा सुनेका छौ? हो, मचाहिँ बलत्कृत पुरूषले भोगेको मनोसामाजिक समस्याहरूका विषयमा ‘थेसिस’ लेख्छु।’’ सरलाले अन्तमा भनिन्।

हामीले एक अर्काको ‘टपिक’ सुन्यौ, मरिमरी हाँस्यौ र ‘त्यसो गरे कसो होला’ भन्दै एकले अर्कोलाई सल्लाह पनि दियौं। जेहोस् हामीलाई आ-आफ्नो ‘थेसिस’ ‘ब्रान्ड न्यू’, ‘युनिक’, र ‘सरप्राइजिङ्ग’ हुने कुरामा पक्का विश्वास थियो। अब आ-आफ्नो ‘सुपरभाइजर’सँग दिउँसो भेटेर सल्लाह गर्ने सहमति बनाएर हामी आ-आफ्नो घरतिर लाग्यौं।

दिउँसो हामीले आ-आफ्नो ‘सुपरभाइजर’सँग कुरा ग-यौं। ‘सुपरभाइजर’हरूले हाम्रो तातो जोशमाथि चिसो पानी खन्याइदिए। ज्ञानेन्द्र र प्रचण्डले समय देला र अक्सर झुठो बोलिरहने यीनीहरूले सही कुरा बताउलान् भनेर कसरी विश्वास गर्ने? सही कुरा वाहिर आएमा राजनीतिक वातावरण र व्यक्तिगत छविमा नकारात्मक प्रभाव पर्न सक्छ भनेर पनि उनीहरूले केही नबताउन सक्छन् वा बताए भने पनि काल्पनिक कुरा बताउने सम्भावना बढी हुनसक्छ। त्यसैगरी, ‘एक्स्ट्रा मारिटल सेक्सुअल अफेयर्स’मा संलग्न विवाहित महिलाहरू र वलत्कृत पुरूष पहिचान गर्न नै कठीन हुन्छ, पहिचान भए पनि उनीहरूको गोप्यकुरा सोध्ने अधिकार कसैलाई हुँदैन। हो, सबभन्दा अग्ला र होचासम्बन्धी अध्ययन चाहिँ सम्भव हुनसक्छ यदि उनीहरूसँग भेट हुन सक्यो भने। त्यसकारण तिमीहरूले अझै दशपल्ट ठण्डा दिमागले सोच र अनि सल्लाह गर्न आओ। ‘सुपरभाइजर’हरूको यस्तो सल्लाह पाएपछि हामी सबै खिस्रिक्क परेर घर फर्क्यौं।

मेरो टोलमा एउटा नामी बलत्कारी वस्छ। उ टोलको दादा पनि हो। मैले फलानोलाई फलानो ठाउँमा फलानो दिन यसरी वलत्कार गरेँ भन्दै हिड्छ ऊ बेलाबेलामा। जो महिला वलत्कृत हुन्छिन् तिनले लोकलाजले गर्दा कसैसँग केही बोल्न सक्दिनन्, अरूले कसले बोल्ने आँट गर्नु। एकदिन म तरकारी किनेर फर्कँदै गर्दा चोकमा साना भुराभुरीलाई आफ्नो वहादुरी सुनाउँदै रहेछ ऊ। त्यसमध्ये एउटाले उसलाई सोध्यो, ‘‘‘अङ्कल’, तपाईलाई चैं कसैले वलत्कार गरेको छैन?’’ बच्चाको प्रश्न सुनेर ऊ बेस्सरी हाँस्यो र भन्यो, ‘‘छैन, छैन। कसैले ग-यो भने तिमीहरूलाई बताउँला नि हुन्न? हा..हा…।’’ म पनि फिस्स हाँसे र घरतिर लागेँ।

‘‘लौ आयो ताजा खबर! पुरूष पनि बलत्कारको शिकार! सम्वेदनशील अङ्गहरू क्षतविक्षतज्! अस्पतालमा गम्भीर हालतमा उपचार जारी! चर्चित बलत्कारी आफै बलत्कृत!’’ एक दिन विहान सबेरै ‘हकर’ले नयाँ खबर सुनायो। पत्रिका किनेर पढेँ, त्यहाँ पनि त्यही कुरा लेखिएको रहेछ। यी पत्रिकाहरू विकाउनका लागि जे पनि लेख्छन् भन्दै मैले वास्ता गरिन। एफ.एम. रेडियोको समाचारबाट पनि त्यही कुरा सुनियो। मैले ‘कन्फर्म’ गर्न टोलका साथीहरूसँग सोधे, बलत्कारमा पर्ने त टोलकै त्यही स्वयम वलत्कारी गुण्डा पो रहेछ। मैले तुरून्त सरलालाई फोन गरेर भने, ‘‘सरला, तिम्ले आजको ताजा समाचार सुन्यौ। हाम्रो टोलको नामी वलत्कारी गुण्डा त गए राती आफै नराम्ररी बलत्कारमा परेछ नि! तिम्ले बलत्कृत पुरूषको मनोविज्ञानको विषयमा ‘थेसिस’ लेख्छु भन्या हैन? तिम्रो ‘थेसिस’ अब सजिलै तयार हुने भो।’’ मैले एकै सासमा सबै कुरा भन्न भ्याएँ। ‘‘धन्यवाद अरूण, त्यो कुरा मलाई थाहा छ।’’ सरलाले बडो सरल ढङ्गले जवाफ दिइन्। उनी त ‘एक्स्साइटेड’ हुनु पर्नेमा निक्कै ‘कुल’ पाएँ। ‘‘के भो तिमीलाई? तिमी ‘एक्स्साइटेड’ हुनु पर्नेमा म पो ‘एक्स्साइटेड’ भैरा’छु। के हो यस्तो?’’ मैले प्रतिप्रश्न गरेँ। ‘‘तिमी पाटनदरवार ‘स्क्वायर’मा आऊ, म पनि त्यहीँ आउँछु अनि चिया पिउँदै यस विषयमा कुरा गरौंला हुन्न?’’ उनले भनिन्। मैले पनि तुरून्तै हुन्छ भने।

‘‘तिमी किन यतिविघ्न ‘कुल’ भएकी हँ? तिमी त ‘एक्स्साइटेड’ हुनु पर्ने हैन?’’ पाटन कृष्ण मन्दिरको सिँढीमा टुसक्क बस्न नभ्याउँदै मैले सरलालाई सोधे। मेरो प्रश्नको जवाफमा शुरूमा हाँसिन् मात्र। त्यसपछि बल्ल बोल्न थालिन्, ‘‘यस घटनाको पूरा ‘इपिसोड’ तिमीलाई थाहा छ?’’ उनले सोधिन्। ‘‘मलाई त समाचारमा जति आयो त्यतिमात्र थाहा छ। के तिमीलाई त्यो भन्दा बढी थाहा छ?’’ मैले सोधे। ‘‘छ मलाई त्यसको पूरा ‘इपिसोड’ थाहा छ।’’ उनको जवाफ सुनेर म थप कुरा सुन्न उत्सुक भए। ‘‘हो, अब तिमी ‘कुल’ हुन्छौं मचाहिँ ‘एक्स्साइटेड’ हुन्छु बुझ्यौ? यही कुरा बताउन मैले तिमीलाई यहाँ डाकेकी हूँ। यो गोप्य कुरा हो। तिमीले गोपनीयता भङ्ग गर्दैनौ भन्ने कुरा मलाई पूरा विश्वास छ। त्यसैले यस घटनाका वाहिर नआएका केही तथ्यहरू म तिमीलाई बताउँछु, हुन्छ?’’ उनको प्रश्नको प्रत्युत्तरमा मैले हुन्छ भनेर टाउको मात्र हल्लाए। उनले बताउन थाली, ‘‘हिजो साँझ, ८ बजे तीन जना केटाहरूले उनलाई अपहरण गरेर पर्खाल बार बन्देज केही नभएको एउटा बन्द कारखानाको गोदाममा लगे। ती तीनैजना काठमाण्डौंका नामी ‘गे’हरू थिए। तिमीलाई थाहा छ ‘गे’ भनेका केटा भएर पनि केटाहरूसँग नै यौनसम्बन्ध राख्ने मान्छेहरू हुन्। त्यो गुण्डाको हात खुट्टा बाँधेर र मुखमा पट्टी लगाएर तीनीहरूले पालैपालो वलत्कार गरे। त्यो गुण्डाको वलत्कारमा परेर घरबाट निकालिए पछि बाँच्नका लागि ‘बेश्या’ अर्थात यौनकर्मी बन्न बाध्य भएकी दुईजना महिलाहरूले पनि तिनलाई पालैपालो बलत्कार गरिन्। उनीहरू सबैले ‘मास्क’ लगाएका थिए। त्यतिभएपछि त्यो गुण्डा अर्ध चेत अवस्था पुग्यो। त्यसपछि उनीहरू बाटो लागे। होसमा आएपछि कारखानाका पालेहरूले थाहा पाएर अस्पताल पु-याए। यी सबैको घटनाक्रमहरूको ‘लाइभ रेकर्ड’ मसँग छ। उक्त ‘रेकर्ड’ उक्त तीन जना ‘गे’ र दुई जना यौनकर्मी महिलाहरूले पालैपालो खिचेका हुन्। तिमीले भने जस्तै मेरो ‘थेसिस’ त अब पक्का तयार हुने भो नै। अहिले म त्यो गुण्डाले पत्रकारहरूलाई के के भन्दा रहेछन् भनेर पर्खिरहेकी छु। अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि म अन्तरवार्ता लिन जान्छु। त्यसले मलाई सही-सही कुरा बताउनेछ भन्ने विश्वास गरेकी छु। नबताएमा उक्त ‘रेकर्ड’ देखाएर ‘बार्गेनिङ्ग’ गर्नेछु । त्यसपछि त साँचो कुरा नबताइ सुख त्यसले! हो म उनको नाम र ठेगाना नक्कली राख्छु र वास्तविकता अरू कसैलाई पनि बताउदिन। यो काममा मलाई तिम्ले सघाउनु पर्छ है।’’ सरलाले सबै कुरा बताइन्। ‘‘तिम्ले यी सब कुरा कसरी थाहा पायौ?’’ मैले लामो सास तान्दै सोधे। त्यही तीन जना ‘गे’ र दुई जना यौनकर्मी महिलाहरूले बताएका नि। ती ‘गे’हरू कामुक पुरूषको खोजिमा रहेछन् र यौनकर्मी महिलाहरू बदला लिने दाउमा रहेछन् धेरै पहिलेदेखि। त्यो गुण्डालाई कसरी बलत्कार गर्ने भन्ने ‘आइडिया’ चाहिँ ती यौनकर्मी महिलाहरूको हो। मेरै टोलकी एउटी यौनकर्मी महिला जो त्यही गुण्डाबाट बलत्कृत भएपछि यौनकर्मी बन्न बाध्य भएकि थिइन, बाट मैले यो कुरा थाहा पाएँ। मैले यस मौकालाई अलिकति सदुपयोग गरेँ।’’ उनले बताइन। ‘‘के त्यसो भए घटनाको मूल ‘डिजाइन’कर्ता नै तिमी हौ त?’’ मैले सोधे। ‘‘चाहना, सक्रियता र जिम्मेवारी उनीहरूको, ‘प्लानिङ्ग’ र ‘लाइभ रेकर्ड’को ‘आइडिया चैं मेरो। दर्जनौ दिदी बहिनीलाई बलत्कार गरेर जीवन वर्वाद गर्नेलाई बलत्कारको पीडा कस्तो हुन्छ भनेर चखाउनु पनि प-यो नि! यति काम त अपराध वा पाप हुन्न होला नि!’’ उनले सगर्व भनिन्। ‘‘यो त टोक्ने कुकुरको खुट्टा टोके जस्तो भएन र?’’ मैले प्रतिप्रश्न गरेँ। ‘‘तिम्रो कुरा त साधु सन्तको जस्तो पो भयो, आम मान्छेको जस्तो भएन। जो माथि अन्याय भए ती कुनै साधु सन्त थिएनन् केवल आम मान्छे थिए भन्ने कुरा विर्सनु भएन नि।’’ उनले सफाई दिइन्। ‘‘सरला तिमी जे भन, त्यो गुण्डासँग वदला लिने तरिकाचाहिँ ठीक भएन बुझ्यौ?’’ मैले प्रतिवाद गरेँ। ‘‘अरूण तिमी पनि जे भन, कानुन र समाजले तह लगाउन नसकेको त्यो बलत्कारीलाई तह लगाउने तरिका यही हो। उसले जसरी निर्दोष महिलाहरूलाई जुन ठाउँमा जसरी बलत्कार गरेको थियो ठीक त्यही ठाउँमा त्यसरी नै ऊ हिजो बलत्कृत भएको छ। यो त उसले खनेको खाल्डोमा आफै परेको मात्र हो अरू केही होइन।’’ सरलाले मेरो कुराको प्रतिवाद गरिन। मैले उनलाई जति-जति सम्झाउन खोजेँ उनी त उति-उति कडा रूपले पेश हुन थाली। उनको र मेरो कुरा मिलेन। नेताहरूको जस्तै हाम्रो वार्तालाप पनि बिनानिश्कर्ष टुङ्गियो। नजीकैको मीठाई पसलमा तातो-तातो जेरी र हलुवा-स्वारी खाएर हामी आ-आफ्नो घरतिर लाग्यौं।

सरलासँग छुट्टिएपछि मेरो दिमागमा नानाथरी विचारहरू खेल्न थाले। हाम्रो समाज सम्बेदनहीन भैसकेछ। यो कुरा ‘जनयुद्ध’, अपहरण, हत्या, हिंसा र हिन्दी चलचित्रको देन हो जस्तो लाग्छ मलाई। मनोविज्ञानको एउटा विद्यार्थीको हैसियतले यति कुराचाहिँ म विश्वासकासाथ भन्न सक्छु। सधै सरल देखिने सरलाको मनोविज्ञान पनि यति जटिल र घातक होला भनेर मैले चिताएकै थिइन। उनी केही समयदेखि मसँग खुलेर कुरा गर्छिन्। कारण एउटै छ, सरलासँग अर्को महिना मेरो विवाह हुँदैछ।

लालीगुराँसको तेश्रो अङ्क प्रकाशित भयो

March 1, 2010

लालीगुराँसको तेश्रो अङ्क प्रकाशित डाउनलोड गरेर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

तेश्रो अङ्क

सम्पादक तथा प्रकाशक

गजल

March 1, 2010

निमेष निखिल

गजलकार निखिल

(१)

धारिलो छ तरबार आँखै अगाडि

प्रियको छ उपहार आँखै अगाडि

….

जिन्दगी छैन कतै टाढाटाढासम्म

मृत्युको छ समाचार आँखै अगाडि

….

उर्लेको भेल छ खडेरी प्रदेशमा

बैंसको छ अभिसार आँखै अगाडि

….

मन्दिर टुँडालतिर छैनन् परेवा कतै

सधैंको छ काटमार आँखै अगाडि

….

खालीखाली छ सिंहासन मनको

ढलेको छ सरकार आँखै अगाडि

(२)

 जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ

बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ

….

जतिसुकै छाँटे पनि आदर्शका कुराहरू

भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ

….

खुसी साट्ने धेरै देखेँ साथीभाइ इष्टहरू

विपत्तिमा आफन्तैले हात लाउँदो रहेनछ

….

सन्तापले मुटुभित्र डेरा हाली बसेपछि

सान्त्वनाले दुःखी मनको पाली छाउँदो रहेनछ

निस्पृहता

March 1, 2010

कथाकार श्रेष्ठ

कथा

 

 

लाल श्रेष्ठ

 

‘‘दिदी, बाहुला माथि सार्नोस् त।’’

चट्ट सिँगारिएकी  दिदीले मेरो आदेशको पालना गरी।

‘‘इन्जेक्सनले दुख्यो?’’ मैले सोधे।

‘‘अहँ, दुखेन’’ एउटा सहज उत्तर।

कुरा गर्न मन लागेर  ५५ वर्षकी मैयाँ दिदीभित्र म प्रश्नहरूको बाटो हुँदै पस्दै गएँ। ‘‘तपाईको ठेगाना नाम्सा गाउँ वार्ड नं. ४ लेखिएको रहेछ। यहाँ त म पहिला एक पटक गा’थे। मान्छे देखेर भाग्ने मान्छेहरू थिएँ त्यहाँ त्यतिबेला। बस्ती पनि ज्यादै पातलो थियो। तपाइँले झैं बोल्ने र लगाउने मान्छे कल्पना पनि गर्न सकिन्न  त्यहाँ त्यसबेला।’’

‘‘हो भाइ, म त्यहीँ जन्मे, घाँस-दाउरा र गोठाला गरी १३ की भएँ’’ दिदीले आफ्नो कहानी भन्न शुरू गरिन। ‘‘नाम्सामा बेला-बेलामा तरकारी लिन ठेकेदारहरू आउँथे। ठेकेदारको काम गर्ने तराईको एउटा मान्छेले मसँग विहे गर्छु भन्यो बाउसँग रक्सी खाँदै। रक्सीको सुरमा बाउले स्वीकृती पनि दिए। उस्ले मलाई कहिल्यै नदेखेको ठाउँ तराईमा लग्यो। म २३ बर्षकी हुँदासम्म ऊसँग बसेँ। खुब काम गर्नु पर्थ्यो। भाषा, लुगा र परम्परा केही पनि जान्दिन थेँ। मलाई धेरै नै पिट्थे र लदाउँथे, तैपनि मैले मुख फर्काइन । मबाट कुनै बच्चा भएन। यसमा पनि मेरो कुनै गुनासो रहेन ।

 मेरो लोग्ने कहाँ उसैको एउटा साथी आइरहन्थ्यो। उनीहरू राती अबेरसम्म रक्सी खान्थे, मलाई पनि दिन्थे र म पनि खाइदिन्थेँ।  त्यसपछि दुबैले मलाई पालैपालो भोग्थ्यो। मेरो लोग्नेले मलाई बंश दिन नसकेकी आइमाइ भनेर एकदिन २५ हजारमा उसैको साथीलाई बेचिदिए। दोश्रो लोग्नेले मलाई ३ वर्षसम्म बम्बैमा कोठामा लगेर राख्यो। अनि पछि तँ थोत्री भइस भन्दै कोठीमा लगेर बेची दियो। उस्ले बेच्दा म त्यतिखेर २६ वर्षकी थिएँ। म रोइन, कराइन र जे छ सबै स्वाभाविक मानेर चलेँ। २८ वर्ष कोठीमा बसेँ। ५४ की भएँ। रगत जाँच्दा एचआइभी भन्ने रोग लाग्यो भन्यो। नेपालमा उपचार छ भनेर यता पठाइदिए। गाउँमा गएँ। पहिलेको भन्दा गाउँमा मान्छेहरू बढेका रहेछन्। बाउ मरिसकेकोले सबै कुरा लथालिङ्ग थिए। पहिला त मलाई कसैले पनि चिनेनन् । पछि स्याङ्तान बुढाको छोरी भनेपछि सबैले चिने। त्यही बाउको ऐलानी जग्गा स्याहारेर बस्दैछु। यहाँ उपचार गर्दैछु।’’ यत्तिक्कैमा क्लिनिकमा एउटा अर्को रोगी आइपुग्यो। म उस्लाई सेवा दिन उठेँ। मैया दिदी पनि उठ्नु भो।

 दिदीको कुरा सुनेपछि म गंभीर भएँ। सपाट अनुहार र शून्य भावको यौटा जिन्दगी। यस्तो पनि जिन्दगी? मान्छे यत्तिको निस्पृह हुन सक्छ? प्रश्नको ज्वारभाटा मनभरि छाड्दै मैया दिदी परको कुइनेटोबाट अलप भइन।


Follow

Get every new post delivered to your Inbox.