लालीगुराँसको चौथो अङ्क डाउनलोड गरेर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
सम्पादक तथा प्रकाशक
लालीगुराँसको चौथो अङ्क डाउनलोड गरेर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
सम्पादक तथा प्रकाशक
कविता
-वासुदेव अधिकारी
छोयो कि पोल्यो
छाम्यो कि डाम्यो
निक्कै गुन छ सिस्नोको
लेकमा सिस्नो
बेँसीमा सिस्नो
गीतै गीतको गाथा छ सिस्नोको।
सिस्नो जति जाज्वल्यमान् भए पनि
सिस्नो जति सामर्थ्यवान् भए पनि
घरको दलिन बनाउन सकिँदैन सिस्नोबाट
थामहरू बनाउन सकिँदैन सिस्नोबाट।
डाम्न हुन्छ
तर्साउन हुन्छ
तर अडेस लाग्न हुँदैन
न सिन्काको गुन
न फरिकाको भर।
सिस्नो भयको मूल हो
भए केन्द्रबिन्दु होइन जीवनको
जीवन मायाँको पर्याय हो
ओतको अर्को पाटो हो
पर्यावरणको यो वीभत्सतामा
हामीले सिस्नो रोप्ने कि साल?
गोजीमा बारूद बोक्ने कि
अमलाको दाना?
कविता
-देवी उपरकोटी
मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन
स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन
उसको पनि रातो रगत मेरो जस्तै हेर
कसरी ऊ अछुत भयो भ्रम भयो यहाँनेर
काम गर्ने निहु पारी कामको बाँडफाँड गर्दा खेरी
टाठाबाठा मान्छेहरूले जात छुट्याए मान्छे हेरी
जुत्ता चल्ने कपडा चल्न्र पानीचाहिँ किन नचल्ने
थिचिएर होला शायद जातपातमा मान्छे नबोल्ने
जाऔं अब हात समाउँ मान्छेको जात एउटै बनाउँ
रूढीवादी विचार त्यागी साँच्चै नयाँ नेपाल बनाउँ
संस्मरण
-ब्यास, अमेरिकाबाट
आजभोलि किन हो कुन्नि बिहान चाँडै निद्रा खुल्न गरेको छ । बिहान सबेरै निद्रा खुलेपछि फेरि सुत्ने कि उठ्ने दोमन हुन्छ हरदिन । कहिलेकाहिँ उठेर कम्प्यूटरमा बस्छु । कुनै नयाँ इमेल हुँदैन भन्ने थाहा पाउँदा-पाउँदै पनि इमेल खोल्छु कुनै नयाँ इमेल आ’को छ कि भन्ने झिनो आशमा । आजकल माई संसार डटकम बाहेक फेसबुक हेर्ने नयाँ लत लागेको छ । दिनको एक चोटी यी साइटहरु नहेरी खाएकै पच्दैन मलाई ।
विहान उठेर मुख कुल्ला नगरी ठूलो ग्लासले दुइ ग्लास पानी पिएपछि मेरो नियमित दिनचर्या शुरु हुन्छ । केहीछिन ब्यायाम मेशिनमा कुद्छु । बिरलै प्राणायाम गर्छु । केही वर्ष पहिले त नियमित प्राणायाम गर्थेँ तर अहिलेचाहिँ छुटेको छ । म प्रत्येक दिन भोलिदेखि प्राणायाम र योगाशन शुरुगर्ने वाचा गर्छु । यसो गर्दा मलाई एकखाले सन्तोष मिल्छ। तर, गजबको कुरा, महिनाको कुनै एकदिन प्राणायाम गरेर आफ्नो वाचा पूरा गरेँ भन्दै म आफूले आफैलाई ठग्छु । विहानको खानामा मलाई दूधसँग सेरियल (कर्णफ्लेक्स) र ठूलो एककप कफी भए पुग्छ । कहिलेकाहिँ पीनट बटर र ब्राउन ब्रेड लिन्छु केवल स्वाद फेर्नका लागि । मजाले ब्रेकफास्ट खान शनिवार र आइतवार नै कुर्नुपर्छ। अरुदिन अफिसतिर दगुर्नै हतार हुन्छ ।
प्रायः अफिसको लागि बस समात्न साँच्चैकै दगुर्न पर्नेहुन्छ । बस प्रायः समयमा नै आउँछ । भलादमी ड्राइभर परे भने बाटो काट्न लागेको देखेपछि बस एक मिनेट रोक्छ नत्र आधा घण्टा अर्को बस कुरेर बस्नु पर्छ । सार्वजनिक यातायात सेवाको उपयोग गरोस् भनेर नगरपालिका र राज्य सरकारले कर्मचारीहरुलाई राम्रो सहुलियतमा महिनावारी बस र रेलको टिकट प्रदान गर्छ । यस सुविधाबाट आफूलाई पनि सजिलै भएकोछ । हुन पनि हो, गाडी गुडाउनु पनि परेन, पार्कीङ्गको झन्झट पनि भएन ।
म चढ्ने बस बिसौनीबाट खासै मानिसहरु चढदैनन् । कहिलेकाहिँ एकजना हाईस्कूले विद्यार्थी यहाँ देखिन्छ । ऊ आफ्नै धूनमा हुन्छ- आईपडको संगीतमा मस्त । म बस चढ्छु र ड्राईभरलाई हलो भन्छु । मेरो महिनावारी टिकट देखाउँछु र कुनै खाली सिटमा गएर बस्छु । नगरपालिकाले सञ्चालन गरेको बस सफा, सुलभ र सस्तो छ । म पनि आफ्नो सिटमा आफ्नै धूनमा रमाउँछु। अरू पनि आ-आफ्नै धूनमा रमाउँछन् । ठिटा-ठिटीहरु काने संगीतमा मस्त छन् । कोही सेलफोनमा ब्यस्त छन् । कोही अखवार पढ्दै कुन्नि के-के खबरमा मग्नछन् त कोही किताब पढ्दैछन् । मचाहिँ अलि फरक छु । बाहिरको वातावरण नियाल्दैछु । आज भने बाक्लै कुहिरो लागेकोछ । तर बस आफ्नै गतिमा दौड्दैछ । बसमा मान्छेहरु पनि थपिँदैछन् । सबका हातमा टिफिन ब्याग छन् । अब त बसमा बस्ने ठाउँ पनि हुन्न । त्यसैले मानिसहरु उभिन थालिसके । बस निरन्तर दौड्दैछ आफ्नो गनतब्यतिर शान्तसंग । बसभित्र सब शान्त छन् । बाहिर पनि कुनै ठूलो स्वर छैन । कतै हर्नको तिखो स्वर पनि सुनिँदैन । सुनिन्छ त सिर्फ गाडी गुडेको मन्द आवाज ।
अब म अफिस आइपुगेकोछु । अहिले विहानको आठ बजेको छ । ‘मेन डेस्क’मा एकजना गोरा र एकजना भारतीय मूलका गार्ड छन् । दुबैलाई अभिबादन गर्दै म आफ्नो खोपामा पुग्छु । मेरो कुनै कोठा छैन अफिसमा सिर्फ खोपा छ- क्यूबिकल । मेरो छेउमा मेरो हाकिमको खोपा छ । हाकिमलाई अभिवादन गर्दै म आफ्नो सिटमा बस्छु । मेरो हाकिम जहिले पनि सात बजे नै आईपुग्छ र आफ्नो काममा ब्यस्त रहन्छ । उ पनि म जस्तै विदेशबाट आएको आप्रवासी हो । ऊ साह्रै मेहनती र तेज बुद्धिको छ । अनि इमान्दार पनि छ । म आफ्नो टिफिन बक्स राख्न किचेन लाग्छु । प्रायः किचेनमा यो समयमा एकजना गोरा फास्टफुडबाट ल्याएको ब्रेकफास्ट खाँदैहुन्छ । ब्रेकफास्ट खान नभ्याएर वा ब्रेकफास्ट बनाउन अल्छि लागेर हो वा मेरो जस्तो ब्रेकफास्ट बनाइदिने श्रीमती नभएर हो, जहिले पनि त्यही अस्वस्थकर ब्रेकफास्ट खाँदैबस्छ । अर्की एक महिला भने पाउरोटी सेक्दैहुन्छ । तिनले भने आफूलाई चाहिने सबै सरसामान फ्रीजमा राखेको हुन्छ ।
किचनबाट फर्केर म आफ्नो काममा लागिहाल्छु । मेरो काम मजाको छ । स्वतन्त्र रुपमा काम गर्न पाइन्छ । खासै कुनै दवाब छैन भन्दा पनि हुन्छ। बाह्रबजे लन्च ब्रेक हुन्छ -खाना खान र विश्रामको लागि । लन्च ब्रेक मैले एकघण्टा लिने गरेकोछु । आधाघण्टा पनि लिन पाईन्छ आफ्नो खुशीले । मचाहिँ पन्ध्र मिनेटमा खाना खान भ्याउँछु । घरबाट ल्याएको खाना माइक्रोवेभमा तताएर खान त्योभन्दा बढी समय लाग्दैन । खाना खाएपछि आधा घण्टा नजिकैको पार्कमा हिडँछु । कहिले सहकर्मी साथीसंग त कहिले एक्लै । मेरो पनि हाकिम दौड्न निस्कन्छ । घरबाटै दौडने सामान ल्याएको हुन्छ उसले । दौड पूरा गरेर नुहाउँछ र कम्प्यूटर अगाडि बसेर खाना खान्छ । म पनि पन्ध्र मिनेट जति नेपाली र अन्य समाचार हेरेर बिताउँछु ।
दिनभरको एकोहोरो कामले साँझसम्ममा मज्जाले थाकिन्छ । मेरो हाकिम सात बजे अफिस आउँछ साढेचार बजे तिर निस्कन्छ । मचाहिँआठ बजे आउँछु अनि पाँच बजेतिर निस्कन्छु । हामी दुबै दिनको आठ घण्टा काम गर्छौ । साँझ घर फर्कन मलाई बस भन्दा रेल मनपर्छ । मलाई रेलको सफर जहिले पनि रमाइलो र सुरक्षित लाग्छ । विशेष गरेर रेल गुडेको आवाज मलाई मनपर्छ । त्यस्तै रेलमा विभिन्न उमेर र पहिरनका मान्छेहरु पनि हेर्न पाइन्छ । रेलमा कहिलेकाहिँ केही उरेन्ठेउला कालो वर्णका केटाहरु पनि चढ्छन् । उनीहरुको आफ्नै दुनियाँ छ । आफ्नै पहिरन छ कम्मरभन्दा तल बाँधेको पाइन्ट । यो पहिरन मलाई अलि पच्दैन, शायद म अलि बुढो भएछु क्यारे ।
अब म आफ्नो ओर्लने स्टेशनमा आइपुगेकोछु । मेरी श्रीमती मलाई लिन स्टेशनमा गाडी लिएर आइसकेकोछ । यहाँबाट मेरो घर सिर्फ पाँच मिनेटको ड्राइभमा छ- यस्तै तीन किलोमीटर जति। यसबेलासम्म म भोकाई सकेकोछु । घर पुगेपछि श्रीमतीको हातको तातो मीठो चियासंग पीनट बटर दलेको एक टुक्रा पाउरोटी खान्छु । अनि केही बेर इमेल र इन्टरनेटमा भुल्छु । अफिसमा ब्यक्तिगत इमेल हेर्न मिल्दैन त्यसैले इमेलको लागि घरकै कम्प्यूटर प्रयोग गर्नुपर्छ । अब फेरि एकछिन ब्यायाम मेशिनमा बिताउँछु । ब्यायाम सकेर नुवाइ धुवाइ गर्दासम्म श्रीमतीले खाना खान बोलाई सक्छ । खानाचाहिँ नेपाली नै मनपर्छ । खास गरेर सुख्खा रोटी ।
हो, प्रत्येक दिन यसरी नै कट्दैछ अमेरिकाको बसाई- सामान्य र शान्त । अस्तु ।।
कविता
-बिमल रेग्मी
खेतबारीको बीचमा
ठिङ्ग उभिएर बसेको छ बुँख्याचा
लाग्छ बुँख्याचा
बच्चा र बटुवाहरूलाई तर्साउन बसेको भुत हो
हात फिजारेर उभिएको छ बुँख्याचा
आफ्ना मालिकको बाली जोगाउन
थोत्रो मैलो लुगा लगाएर
एउटा डरलाग्दो रूपमा छन् बुँख्याचाहरू।
बुँख्याचा आज पनि उभिरहेकै छ,
मालिकको त्यही थोत्रामोत्रा लुगा लगाएर
यस्तो लाग्छ
मालिक नै बुँख्याचा भएर,
बुँख्याचा नै मालिक भएर उभिएको छ
बाटो छेउबाट हिड्दा भयभित छन् बच्चा र बटुवाहरू
र पनि उभिरहन्छन हरेक खेतबारीहरूमा
मालिकले खटाएका बुँख्याचाहरू ।
मालिक ढुक्क छ
बुँख्याचाको इमान्दारितामा र लगनशिलतामा
बुँख्याचा फुरूङ्ग छ
थोत्रामोत्रा भएपनि मालिक कै लुगा लगाउन पाएकोमा
ऊ सोच्दछ यो खेतबारीको मालिक म नै हूँ
मालिक पनि सन्तुष्ट छ
बुँख्याचाजस्तो ज्यालारहित कामदार पाएर।
मान्छेहरूमा बिश्वाश, इमान्दारीता र मेहनत भैदिएको भए
किन खटाउथे मालिकहरू आफ्नै भेषमा बुँख्याचाहरू?
मालिकहरूमा मानवता र नैतिकता भैदिएको भए
कहाँ लिन सक्थे र बुँख्याचाले मान्छेका स्थान?
आजभोलि जताततै
मान्छेहरू बुँख्याचा भैरहेका छन्
बुँख्याचाहरू मान्छे भैरहेका छन्
मालिकहरू लागिरहेछन्
बुँख्याचाहरूलाई मान्छे बनाउन
र मान्छेहरूलाई बुँख्याचा बनाउन
मान्छेहरू क्रमशः बुँख्याचामा रूपान्तरित भैरहेका छन्,
बुख्याँयाहरू क्रमशः मान्छेमा परिवर्तित भैहेका छन्
यो बनाउने र बिगार्नेको खेल हिजो पनि थियो,
आज पनि छ र भोलि पनि रहने छ।
Email: regmi_bimal001@yahoo.com
लालीगुराँसको तेश्रो अङ्क प्रकाशित डाउनलोड गरेर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
सम्पादक तथा प्रकाशक
निमेष निखिल
(१)
धारिलो छ तरबार आँखै अगाडि
प्रियको छ उपहार आँखै अगाडि
….
जिन्दगी छैन कतै टाढाटाढासम्म
मृत्युको छ समाचार आँखै अगाडि
….
उर्लेको भेल छ खडेरी प्रदेशमा
बैंसको छ अभिसार आँखै अगाडि
….
मन्दिर टुँडालतिर छैनन् परेवा कतै
सधैंको छ काटमार आँखै अगाडि
….
खालीखाली छ सिंहासन मनको
ढलेको छ सरकार आँखै अगाडि
(२)
जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ
बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ
….
जतिसुकै छाँटे पनि आदर्शका कुराहरू
भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ
….
खुसी साट्ने धेरै देखेँ साथीभाइ इष्टहरू
विपत्तिमा आफन्तैले हात लाउँदो रहेनछ
….
सन्तापले मुटुभित्र डेरा हाली बसेपछि
सान्त्वनाले दुःखी मनको पाली छाउँदो रहेनछ
कथा
लाल श्रेष्ठ
‘‘दिदी, बाहुला माथि सार्नोस् त।’’
चट्ट सिँगारिएकी दिदीले मेरो आदेशको पालना गरी।
‘‘इन्जेक्सनले दुख्यो?’’ मैले सोधे।
‘‘अहँ, दुखेन’’ एउटा सहज उत्तर।
कुरा गर्न मन लागेर ५५ वर्षकी मैयाँ दिदीभित्र म प्रश्नहरूको बाटो हुँदै पस्दै गएँ। ‘‘तपाईको ठेगाना नाम्सा गाउँ वार्ड नं. ४ लेखिएको रहेछ। यहाँ त म पहिला एक पटक गा’थे। मान्छे देखेर भाग्ने मान्छेहरू थिएँ त्यहाँ त्यतिबेला। बस्ती पनि ज्यादै पातलो थियो। तपाइँले झैं बोल्ने र लगाउने मान्छे कल्पना पनि गर्न सकिन्न त्यहाँ त्यसबेला।’’
‘‘हो भाइ, म त्यहीँ जन्मे, घाँस-दाउरा र गोठाला गरी १३ की भएँ’’ दिदीले आफ्नो कहानी भन्न शुरू गरिन। ‘‘नाम्सामा बेला-बेलामा तरकारी लिन ठेकेदारहरू आउँथे। ठेकेदारको काम गर्ने तराईको एउटा मान्छेले मसँग विहे गर्छु भन्यो बाउसँग रक्सी खाँदै। रक्सीको सुरमा बाउले स्वीकृती पनि दिए। उस्ले मलाई कहिल्यै नदेखेको ठाउँ तराईमा लग्यो। म २३ बर्षकी हुँदासम्म ऊसँग बसेँ। खुब काम गर्नु पर्थ्यो। भाषा, लुगा र परम्परा केही पनि जान्दिन थेँ। मलाई धेरै नै पिट्थे र लदाउँथे, तैपनि मैले मुख फर्काइन । मबाट कुनै बच्चा भएन। यसमा पनि मेरो कुनै गुनासो रहेन ।
मेरो लोग्ने कहाँ उसैको एउटा साथी आइरहन्थ्यो। उनीहरू राती अबेरसम्म रक्सी खान्थे, मलाई पनि दिन्थे र म पनि खाइदिन्थेँ। त्यसपछि दुबैले मलाई पालैपालो भोग्थ्यो। मेरो लोग्नेले मलाई बंश दिन नसकेकी आइमाइ भनेर एकदिन २५ हजारमा उसैको साथीलाई बेचिदिए। दोश्रो लोग्नेले मलाई ३ वर्षसम्म बम्बैमा कोठामा लगेर राख्यो। अनि पछि तँ थोत्री भइस भन्दै कोठीमा लगेर बेची दियो। उस्ले बेच्दा म त्यतिखेर २६ वर्षकी थिएँ। म रोइन, कराइन र जे छ सबै स्वाभाविक मानेर चलेँ। २८ वर्ष कोठीमा बसेँ। ५४ की भएँ। रगत जाँच्दा एचआइभी भन्ने रोग लाग्यो भन्यो। नेपालमा उपचार छ भनेर यता पठाइदिए। गाउँमा गएँ। पहिलेको भन्दा गाउँमा मान्छेहरू बढेका रहेछन्। बाउ मरिसकेकोले सबै कुरा लथालिङ्ग थिए। पहिला त मलाई कसैले पनि चिनेनन् । पछि स्याङ्तान बुढाको छोरी भनेपछि सबैले चिने। त्यही बाउको ऐलानी जग्गा स्याहारेर बस्दैछु। यहाँ उपचार गर्दैछु।’’ यत्तिक्कैमा क्लिनिकमा एउटा अर्को रोगी आइपुग्यो। म उस्लाई सेवा दिन उठेँ। मैया दिदी पनि उठ्नु भो।
दिदीको कुरा सुनेपछि म गंभीर भएँ। सपाट अनुहार र शून्य भावको यौटा जिन्दगी। यस्तो पनि जिन्दगी? मान्छे यत्तिको निस्पृह हुन सक्छ? प्रश्नको ज्वारभाटा मनभरि छाड्दै मैया दिदी परको कुइनेटोबाट अलप भइन।